मनोरञ्जन क्षेत्रमा श्रमिकको अवस्था बारे सर्वेक्षण, अधिकांश मनोरञ्जन स्थल मापदण्ड विपरित.
| Sept. 23, 2022, 3:02 p.m.काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ अन्तर्गत ठमेल, गोँगबु, रानीवारी लगायतका क्षेत्रमा रहेका २ सय १६ वटा मनोरञ्जन क्षेत्र मध्ये अधिकांश मनोरञ्जन स्थल मापदण्ड विपरित संचालनमा रहेका छन ।
महिलाका निम्ति महिला मञ्च नेपालले गरेको सर्वेक्षण अनुसार यी स्थानहरूमा संचालित मनोरञ्जन क्षेत्र मध्ये कतिपय दर्ता नै नगरी संचालन गरिएका छन भने कतिपयको नविकरण नभएको र कतिपयले होर्डिङ बोर्ड समेत नराखेर मापदण्ड विपरित सञ्चालनमा छन ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूको हक अधिकारका लागि काम गर्दै आएको महिलाका निम्ति महिला मञ्च नेपालले मनोरञ्जन क्षेत्र र त्यहाँ काम गर्ने श्रमिकहरूको अवस्थाबारे थाहा पाउन एक सय ५० खाजाघर, १५ डान्स बार, २ दोहोरी, १८ मसाज पार्लर र एक रेस्टुरेन्ट गरी २ सय १६ मनोरञ्जन क्षेत्रमा सर्वेक्षण गरेको जानकारी दियो ।
सर्वेक्षणका क्रममा २ सय १६ मध्ये एक सय ५ मनोरञ्जन क्षेत्र दर्ता नै नभएका र एक सय ६१ नवीकरण नै नगरी संचालन गरिएको फेला परेका छन ।
महिलाको निम्ति महिला मञ्च नेपालकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक सिर्जना पुनका अनुसार यो क्षेत्रमा काम गर्ने श्रमिकहरूले सरकारले तोकेको मापदण्ड अनुसार ज्याला पाउन सकेका छैनन । दिनको ८ घण्टा काम गर्दा उनीहरूले ५ देखि १५ हजारसम्म मात्रै कमाउने गरेका छन ।